कतार छिर्न नेपाल एयरलाइन्सले लियो इरानको ‘एयरस्पेश’ - Nepal Travel Book

Wednesday, June 14, 2017

कतार छिर्न नेपाल एयरलाइन्सले लियो इरानको ‘एयरस्पेश’

NAC Airbus
३० जेठ, काठमाडौं । नेपाल एयरलाइन्सले इरानबाट एयरस्पेश लिएर कतारको दोहामा आफ्नो उडान सुचारु गरेको छ । कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै एक्ल्याएपछि नेपाल एयरलाइन्सलाई त्यहाँ छिर्ने एयर रुटको समस्या परेको थियो ।

त्यसैकारण नेपालले इरानबाट ‘फ्लाइओभर पर्मिसन’ लिएको थियो । तर, त्यसको दुई दिनपछि नै नेपाल एयरलाइन्सले आफ्नो पुरानो भुक्तानी नदिएको भन्दै इरानको फ्लाइओभर पर्मिसन रोकेको थियो । एयरस्पेश लिइसकेे पनि नेपाललार्इ समस्या भएको छ ।

यसअघि साउदी हुँदै नेपाल एयरलाइन्स कतारमा प्रवेश गथ्र्यो । तर, आफ्नो आकाशबाट पनि कतार जान विमान कम्पनीहरुलाई साउदीसहितका राष्ट्रले रोकेपछि नेपालले इरानबाट फ्लाइओभर अनुमति लिएको थियो ।

नेपाल एयरलाइन्सले यसअघि इरानको बाटो हुँदै गर्ने उडानको ११ हजार २ युरो तिर्न बाँकी रहेको देखिएपछि इरानले २४ घण्टासम्म फ्लाइओभर पर्मिसन दिएको थिए ।

नेपाल एयरलाइन्सले आफ्नो दायित्व भुक्तानी गरेपछि सोमबारबाटै नेपाल एयरलाइन्सले कतारको दोहामा उडान भर्न सुरु गरेको सह-प्रवक्ता शैलेश कंशाकारले अनलाइनखबरलाई बताए ।

‘२४ घण्टा मात्रै उडान डिलो भएको थियो, हामीले भुक्तानी गरेर समस्या सुल्झाइ सक्यौं’ कंशाकारले भने,’अहिले कुनै किसिमको समस्या छैन।’

नेपाल एयरलाइन्सले काठमाडौं-दोहा-काठमाडौं रुटमा हप्तामा ३ वटा उडान गर्ने गरेको छ । कतारमा रहेका नेपालीहरुलाई नेपाल एयरलाइन्सले कम भाडादरमा सुविधा दिइरहेको छ ।

सन् २०१६ मा नेपालबाट नेपाल एयरलाइन्सले सबैभन्दा बढी यात्रु बोकेको छ । त्रिभुवन विमानस्थलका अनुसार सो वर्ष नेपाल एयरलाइन्सले ३ लाख ८४ हजार ३ सय २७ जना यात्रु ओसारेको थियो ।

जबकि सन् २०१५ मा २ लाख ५३ हजार ६ सय ५८ जना यात्रुलाई सेवा दिएको थियो ।

त्रिभुवन विमानस्थलको तथ्यांकअनुसार सन् २०१५मा यात्रु बोक्ने हिसाबले नेपाल एयरलाइन्स ५ औं स्थानमा थियो ।
सन् २०१५ मा यात्रु ओसार्नेमा नेपाल एयरलाइन्सले भन्दा कतार एयरलाइन्स, एयर अरेबिया, जेट एयरलाइन्स, फ्लाइ दुबई माथि थिए ।

तर, सन् २०१६ मा भने नेपाल एयरलायन्सले सबैभन्दा बढी यात्रुलाई सेवा दिन सफल भएको छ ।