धर्म निरपेक्षता माने- सनानत धर्मको संरक्षण ? - Nepal Travel Book

Sunday, September 6, 2015

धर्म निरपेक्षता माने- सनानत धर्मको संरक्षण ?

लौ सुन्नुहोस् तीन दलका नेताको धर्मको परिभाषा


२० भदौ, काठमाडौं । धर्म निरपेक्षता (सेक्युलारिज्म) को अर्थ संसारभरि नै के बुझिन्छ भने यो भनेको राज्य कुनै पनि धर्मप्रति ‘निरपेक्ष’ वा अलग्गै रहन्छ । तर, अब विदेशीहरुले नेपालको नयाँ संविधान पढे भने उनीहरु तीन छक्क पर्नेछन् ।
Three Parties

ऊँटजस्तो संविधान नबनोस् भनेर धेरैले चिन्ता गरिरहेकै बेला नेपालमा अब बन्ने नयाँ संविधानले धर्म निरपेक्षताबारे संसारमै नभएको अनौठो परिभाषा गर्नेछ । हाम्रो संविधान अंग्रेजीमा अनुवाद भयो भने सायद विदेशीहरु धर्म निरपेक्षताको परिभाषा पढेर हाँस्नेछन् ।

शनिबार साँझ प्रमुख तीन दलले गरेको सहमति अनुसार संविधानमा धर्म निरपेक्षता पदावलि हटाइने छैन । तर, त्यसको परिभाषाका रुपमा थपिने वाक्यांशले भने धर्म निरपेक्षतालाई हटाएसरह बनाउने छ ।

संविधानमा रहेको ‘धर्म निरपेक्षता’ शब्दको थप व्याख्या गर्ने सहमतिपछि प्रमुख तीन दलले संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता गरिसकेका छन् ।

त्यसमा धर्म निरपेक्षताको परिभाषा अनौठो किसिमले गरिएको छ । संविधानमा थप्न लागिएको व्याख्यामा भनिएको छ-‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगागत धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई सम्झनुपर्छ ।’

धर्म निरपेक्ष राष्ट्रमा राज्यले कुनै पनि धर्मको संरक्षण र सम्वर्द्धनमा लगानी गर्दैन । जुनसुकै धर्म सम्प्रदायले पनि आफ्नो संरक्षण आफैं गर्नुपर्छ, जसमा राज्यले चासो दिँदैन ।

तर, नेपालको संविधानले ल्याउन लागेको परिभाषामा अब धर्म निरपेक्षता भन्नाले ‘सनातन -हिन्दू) धर्मको संरक्षण भन्ने बुझ्नुपर्ने छ ।

स्रोतका अनुसार तीन दलका नेताहरुले धर्म निरपेक्षताको अनौठो व्याख्या गर्न लागेपछि एमाओवादी उपाध्यक्ष नारयणकाजी श्रेष्ठले यसको विरोध गरेका थिए ।

धर्मनिरपेक्ष राष्ट्रले सबै धर्म र संस्कृतिमाथि समान व्यवहार गर्नेछ र धार्मिक स्वतन्त्रता रहने छ भन्ने व्याख्या गरिनुपर्ने श्रेष्ठले माग गरेका थिए ।

संविधानमा अनौठो शब्दहरु राख्दा विश्व समुदाय हाँस्छ भन्दै श्रेष्ठले धर्मनिरपेक्षताको परिभाषा सही ढंगले गर्न माग गरेको स्रोतले बतायो ।