समूहमा काम गरौं - Nepal Travel Book

Wednesday, August 5, 2015

समूहमा काम गरौं

काठमाडौ, श्रावण १६ -
समूहमा काम गर्ने बानी तपाईंहरूको कत्तिको छ ? यदि समूहमा काम गर्ने बानी छैन भने यो बानीलाई बसाल्ने प्रयास गर्नुहोस् । जस्तो तपाईंहरू फुटबल खेल्नुहुन्छ होला, कुनै प्रोजेक्ट वर्क गर्नुहुन्छ होला, स्कुलमा हुने सांस्कृतिक वा अतिरिक्त क्रियाकलापको कुनै काम गर्नुहुन्छ होला ।

यी सबै समूहमा गर्ने कामहरू हुन् । समूहमा गर्ने कामले तपाईहरूमा सामूहिक रूपमा काम गर्ने भावना विकास गर्छ भने समूहलाई कसरी नेतृत्व गर्ने भन्ने कुरा थाहा आफूलाई नेतृत्व तहमा पुर्‍याउन मद्दत पनि गर्नेछ ।

काम छनोट गरौं : एक्लै गर्ने कामहरूलाई पनि समूहमा परिवर्तन गर्न सकिन्छ भने कतिपय समूहगत रूपमा गरिने कामहरू पनि हुन सक्छन् । त्यसैले तपाईंलाई कुन किसिमको काम गर्न मन लाग्छ, त्यसको छनोट पहिला गर्नुपर्छ । यदि तपाईंलाई खेलकुदमा रुचि छ भने खेलकुदमा लाग्नुपर्‍यो, मनोरञ्जनमा छ भने त्यस्तै किसिमका काम गर्नुपर्‍यो, सामाजिक सेवाका कामहरू छन् भने त्यसमा लाग्दा पनि राम्रो हुन्छ । आफ्नो रुचिअनुसारको कामको छनोट गर्दा एक त तपार्इंलाई काम गर्दा आनन्द आउँछ भने अर्को त्यो काम राम्ररी सम्पन्न पनि हुन्छ ।

कामको बाँडफाँड गरौं : समूहमा गरिने कुनै पनि काम एक्लै गर्छु भन्ने भावना राख्नु हुँदैन । समूहमा गर्ने कुनै पनि काम धेरै किसिमका व्यक्तिहरूको सहयोगमा मात्र सम्पन्न हुन्छन् । त्यसैले साथीहरूको रुचिअनुसार कामको बाँडफाँड गर्नुपर्छ । यसरी काम गर्दा एकले अर्कोलाई सहयोग गर्ने, नजानेको कुरा सिकाउने र साथीहरूले गरेको कामको निरीक्षण पनि गर्दै रायसल्लाह लिएर कामलाई सफलता तर्फ लैजानुपर्छ । समूहमा बसेर कुनै पनि काम गर्दा आफूलाई अप्ठ्यारो लागेको काममा अरू साथीहरूको सहयोग लिनु पनि पर्छ । यसले तपार्इंहरूको क्षमतालाई अझ बढाउन मद्दत गर्छ ।

नेत्तृत्व विकास गरौं : समूहमा गर्ने कुनै पनि काममा एकजनाले नेतृत्व लिइरहेका हुन्छन् । यसरी नेतृत्व लिने व्यक्ति समूहका सबै साथीहरूसँग बढी घुलमिल भएको, भनेको मान्ने र कुनै पनि कामलाई व्यवस्थित ढंगले पूरा गर्न सक्ने किसिमका व्यक्ति हुन्छन् । तपाईहरूले विद्यालयस्तरमा हुने सामूहिक कामहरूमा आफूलाई नेतृत्व गर्ने विद्यार्थीमा स्थापित गर्नुभएको छ भने यसले भविष्यमा तपाईको करिअरमा पनि मद्दत गर्छ ।

नियमित छलफल गरौं : सामूहिक रूपमा कुनै पनि काम गर्नुभन्दा अगाडि उक्त समूहका सदस्यहरूसँग छलफल गरेर नयाँ उपायहरू, रणनीतिहरू, योजनाहरू, त्यसको प्रभावकारिता, गर्ने उपायहरूजस्ता विषयमा छलफल गर्नुपर्छ । यस्ता छलफलले तपाईंहरूमा धेरै नयाँ उपाय, रणनीतिहरू आउन सक्छन् । योबाहेक आफूले गरेका कुनै पनि कामको बीचमा छलफल र समीक्षा गर्ने बानी बसाल्नुपर्छ ।

समयको ख्याल गरौं : समूहमा गरिने कुनै पनि कामको एउटा समय तोक्नुपर्छ । उक्त काम कहिलेसम्म सम्पन्न गर्ने, त्यसको लागि छलफल गर्नेजस्ता कुराको समय पहिल्यै निर्धारण गरेर कामको थालनी गर्नुपर्छ । छलफललाई बोलाएको समय अगावै पुग्ने बानी बसाल्नुपर्छ । कुनै पनि कामको छलफल बुदाँगत रूपमा गर्नुपर्छ । यसले निश्चित समयमा काम सम्पन्न हुन मद्दत गर्छ ।

प्रकाशित मिति: २०७२ श्रावण १७ १०:१४ || Kopila || ekantipur || Nepal Travel Book ||