कथा लेखनका टिप्स - Nepal Travel Book

Wednesday, August 5, 2015

कथा लेखनका टिप्स

श्रावण १६ -
बालक कालमा साहित्यका असल किताब पढ्ने बानी भएका बालबालिका पछिसम्म पनि राम्रा पाठकका रूपमा रहन्छन् । तिनलाई पुस्तकबाट जीवनजगत्का अनेक जानकारी प्राप्त हुने भएकाले कोर्सको कक्षा पढाइमा पनि उनीहरू राम्रा हुन्छन् । त्यसैले बालबालिकाले सानैदेखि साहित्यका किताब पढ्ने गर्नुपर्छ । बालबालिकाका लागि यथेष्ट मात्रामा असल पुस्तकको हामीकहाँ अझै कमी छ । यसो भनेको राम्रा लेखकको पनि यहाँ कमी नै छ ।

लेखक हुन चाहनेले समयमै काम गर्न तथा फराकिलो दृष्टि र शान्त मनले विषय चिन्न सक्नुपर्छ । उसले धेरैका कुरा सुन्नु, धेरै प्रश्न गर्नु र बालबालिका अति जिज्ञासु हुन्छन् भन्ने मनन् गर्नु जरुरी छ ।

निरन्तर नयाँ–नयाँ विषय पढ्नु, नयाँ ठाउँको भ्रमण गर्नु र प्रशस्तै जानकारी तथा गहकिलो ऊर्जा ग्रहण गर्नु लेखका अरू विशेषता हुन् । आफ्नो ठाउँ, विषय, मानिस र बालबालिकाबारे पर्याप्त जानकारी हासिल भएन भने समाजबारे वास्तविक कुरा थाहा हुँदैन र लेखन कमजोर हुन सक्छ । ‘म लेख्छु, लेख्छु र लेख्छु, मैले राम्रो कथा लेख्नै पर्छ भन्ने कुरा सधैं मनन् गर्नुपर्छ ।

कल्पना र पुनर्विचार गर्नु, सुझाव माग्नु, पटकपटक पुनर्लेखन र सम्पादन गर्नु अनि मैले लेखेको कथा पृथक शैलीको हुनु पर्छ भन्ने मान्यता पालिरहनु असल लेखकका विशेषता हुन् ।

सरल र रोचक शैली लेखनका विशेषता हुन् । अनि मेरो कथा धेरैभन्दा धेरै पाठकको बीचमा पुग्छ भन्ने हेक्का राख्नु लेखकको कर्तव्य हो । पाठकको सम्पर्कमा निरन्तर रहनु, उनीहरूसँग घुलमिल हुनु र तिनको रुचि र आवश्यकताको पहिचान गर्न सक्यो भने लेखनको सामथ्र्य बढ्छ । आफ्नो कथा पाण्डुलिपिमै केही पाठकलाई सुनाउनु र तिनको सुझावअनुसार परिमार्जन गर्नु लेखनलाई माज्ने अर्को उपाय हो ।

प्रकाशित मिति: २०७२ श्रावण १७ १०:१३ || Kopila || ekantipur || Nepal Travel Book||