मोर्चाका कार्यकर्ता घरेलु हतियारसहित सडकमा
२५ भदौ, सुनसरी । आन्दोलनको क्रममा हिंसात्मक गतिविधि सुरु हुन थालेपछि सुनसरीको इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । शुक्रबार बिहानैबाट नेपाली सेना परिचालनसमेत गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार बिहीबार राति बसेको सुरक्षा समितिको बैठकले सदरमुकाम इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
शुक्रबार बिहानैबाट सडकमा नेपाली सेना परिचालित छन् । दंगाग्रस्त क्षेत्रमा नेपाली सेनाले हवाइ गस्तीसमेत सुरु गरेको छ ।
आन्दोलनको नाममा हिंसात्मक गतिविधि सुरु हुन थालेपछि शुक्रबार राति सुरक्षा समितिको बैठकले इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गरिने निर्णय अनुसार शुक्रबार बिहान ७ बजेबाट नेपाली सेना परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयराज शर्माले बताए ।
सदरमुकाम इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरे लगत्तै प्रशासनले सुनसरीको कोशी ब्यारेजदेखि इटहरीसम्म निषेधाज्ञा जारी गरेको छ । राति साढे नौ बजेदेखि बिहान ७ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
दंगाग्रस्त क्षेत्र घोषणा र निषेधाज्ञा जारी गरेपछि इनरुवा शान्त बनेको छ ।
सुनसरीको लौकहीमा भने शुक्रबार बिहानैबाट मधेसी मोर्चाका कार्यकर्ताहरुले घरेलु हतियारसहित प्रदर्शन जारी राखेका छन् । सो क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको सुनसरीको प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।
