लालटिन | Nepal Travel Book |
लाल्टिन रातको समय वा अँध्यारोमा उज्यालोका लागि प्रयोग हुने सामग्री हो । हिजोआज सहबजारदेखि गाउँ घरसम्म विद्युत् पुगिसकेको छ । धेरैजसो घरमा विद्युत्बाट उज्यालो प्रयोग गरिन्छ । केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा समेत स–साना जलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गरिन्छ । तर केही समय पहिलेसम्म यस्तो विकास भएको थिएन । मट्टीतेल प्रयोग गरी उज्यालोको उपयोग गर्ने गरिन्थ्यो । निकै पहिले टुकीमार्फत उज्यालोको प्रयोग गर्ने काम गरिन्थ्यो । जुन टुकीबारे हामीले केही समयअघिको अंकमा चर्चा गरिसकेका छौं । लाल्टिन टुकीभन्दा परिस्कृत तथा विकसित परम्परागत सामग्री हो ।
यो उद्योगले मात्रै निर्माण गर्न सक्छ । खासगरी लाल्टिन बनाउका लागि उद्योगकै आवश्यकता पर्छ । व्यक्तिले बनाउन निकै कठिन हुन्छ । लाल्टिन निर्माणका लागि स्टिलका पाता, सिसा, स्प्रिङ, तार लगायतका सामग्रीहरूको आवश्यकता पर्छ । चित्रमा देखिएझै लाल्टिनको तल्लो भागमा मट्टीतेल राख्ने गोलाकार भाडो हुन्छ । बीचमा सलेदो (कपडाको लाम्चो टुक्रा) राख्नका लागि दुलो हुन्छ । गालाकार भागको एक छेउमा पनि दुलो हुन्छ । जुन मट्टीतेल खन्याउनका लागि प्रयोग गरिने हो । जसमा बिर्को पनि बनाइएको हुन्छ । यो संरचनाको दुईतर्फ खम्बाजस्ता दुई ठाडा स्टिल पाताका खम्बाजस्तो बनाइएको हुन्छ । त्यसको अन्तिम भागमा पनि स्टिल पाताले निर्माण भएको गोलाकार तर माथिबाट धुवाँ छिर्ने अर्को संरचना बनाईएको हुन्छ । जसमा स्प्रिङ पनि फिट गरिएको हुन्छ ।
तेल राख्ने गोलाकार संरचना र स्प्रिङ सहित बनाइएको माथिल्लो भागले बीचको सिसा अड्याउने काम गर्छ । सिसा भने गोलाकार हुन्छ । सिसाको सुरक्षाका लागि तेल राख्ने संरचनाभन्दा केही माथि तारले घेरिएको हुन्छ । यसरी विभिन्न संरचना एक आपसमा जोडेर लाल्टिन तयार हुन्छ । यो बाल्नका लागि माथिल्लो स्प्रिङसहितको संरचना उचालेर सिसा कोल्ट्याएर तेल राख्ने भन्दा माथिल्लो भागमा रहेको सलेदो सल्काइन्छ । पुन: सिसा ठड्याइन्छ । तेल नसकिन्जेल वा ननिभाउन्जेल बलिरहन्छ ।
प्रकाशित मिति: २०७२ श्रावण १७ १०:१६