सरल र असल शिक्षा - Nepal Travel Book

Sunday, August 2, 2015

सरल र असल शिक्षा

सरल र असल शिक्षा | Nepal Travel Book
श्रावण १६ -

आजको अत्यन्तै जटिल शिक्षा प्रणालीमा अभिभावक मात्र हैन विद्यार्थी भाइबहिनीहरू पनि अलमलिएका देखिन्छन् । छोराछोरीलाई के सिकाउने कस्तो बनाउने भन्ने पीडाले अभिभावकहरू पिरोलिएका छन् ।

अभिभावकको यो सोचले बालबालिकालाई समेत अनावश्यक तनावमा पारेको छ । जस्तै छोरा वा छोरी कक्षा २ मा पुगेका छन् भने उनीहरूका सपना बडो सरल र सीमित हुन्छन् । उनीहरू खेल्न चाहन्छन्, खेल्दाखेल्दै सिक्न चाहन्छन्, सिक्दासिक्दै बढ्न चाहन्छन् ।

तर अभिभावकहरूले आफ्नो कृत्रिम सपनाले बालबालिकाको त्यो सरल सपना र जीवनलाई विरोधाभासपूर्ण बनाइदिन्छ । बाबुआमा आफूले जीवनमा गर्न नसकेको वा हुन नसकेको सपना (आकृति) आफ्नो छोराछोरीमा देख्न थाल्छन् र उनीहरूलाई जबर्जस्ती त्यही हुनुपर्दछ भन्ने सोचेर कठिनपूर्ण संघर्षमा आफ्ना छोराछोरीेलाई लाग्न बाध्य तुल्याउँछन् ।

बालबालिकाहरूमा अन्तर्निहित गुण वा क्षमता हुन्छन् । जुन उपयुक्त वातावरण पाएमा प्रस्फुटन हुन गई सार्थक हुन्छ । हामीले उनीहरूको चौतर्फी विकासका क्षेत्रलाई राम्रोसाग बुझेर सरल र असल शिक्षा दिनुपर्दछ । जसमा हामीले अभिभावकको रूपमा वा शिक्षक शिक्षिकाको रूपमा दिने वा विद्यालयको रूपमा दिने भनेको जीवनमा अति आवश्यक अर्थपूर्ण शिक्षा हो ।

जुन जीवनको हरेक पलको अत्यन्त महत्त्वपूर्ण चुनौती हो । यसअन्तर्गत हामीले उनीहरूका शारीरिक विकास, संवेदनात्मक विकास, बौद्धिक विकास, आध्यात्मिक विकास र सामाजिक विकासमाथि जोड दिन सक्नुपर्दछ । यी शिक्षण तथा सीपमूलक क्रियाकलापहरू सरलतापूर्वक प्रदान गर्न सक्नु सबै सरोकारवालाहरूको मूल दायित्व हो ।

यी सबै कुराहरूलाई साकार पार्न एकीकृत सिकाइ पद्धति प्रयोग गर्दै परिस्थितिमूलक सिकाइलाई प्राथमिकता दिन सक्यांै भने हाम्रो शिक्षाले सार्थकता पाउनेछ । जसको लागि सबै सरोकारवालाले ध्यान पुर्‍याउन आवश्यक छ ।

आमाबुवाले आफ्नो छोराछोरीको क्षमता चाहना र आवश्यकतालाई नबुझी देखेको सपना विद्यार्थीमाथि जबर्जस्ती लाद्ने प्रवृत्तिले उनीहरूको आत्मसम्मानमा ह्रास आउाछ ।

त्यसैले हामीले दिने शिक्षा सरल हुनुपर्दछ । जसले गर्दा बालबालिकाको जीवन कालान्तरमा असलसाथै सफल हुन जान्छ ।

यसरी ठूलो कुरा मात्र नहेरी सानो सानो कुराबाट परिवर्तन गरी सरल शिक्षाको माध्यमबाट सर्वाङ्गीण विकास गर्न महत्त्वपूर्ण भूमिका प्रदान गर्नु आवश्यक छ । जसमा आफ्नो माटो सुहाउँदो साथै आफ्नै परिवेशअनुसार मातृभूमिलाई चिन्दै अन्तर्राष्ट्रियजगतलाई बुझ्न सक्ने शिक्षा आजको आवश्यकता हो । जसको लागि विद्यालयको अभिभावक विद्यार्थीबीच त्रिकोणात्मक सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्न सकेमा शिक्षा सरल र असल हुने कुरामा विश्वास गर्न सकिन्छ ।

अञ्जु भट्टराई

(लेखक काठमाडौं काँडाघारीस्थित युरो इन्टरनेसनल स्कुलकी प्रिन्सिपल हुन्)

प्रकाशित मिति: २०७२ श्रावण १७ १०:०९

Source: कोपिला | ekantipur