दु:ख–सुख - Nepal Travel Book

Tuesday, August 4, 2015

दु:ख–सुख

दु:ख–सुख | Nepal Travel Book

श्रावण १६ -

‘नानी यो बाल्टिनमा पानी लिएर आऊ त,’ आमाले सपनालाई भन्नुभयो । सपनाले भित्रबाट बाल्टी झिकिन् । अनि पानी लिन हिँडिन् । टाढा छ पधेंरो । बेस्सरी हिँड्नेलाई आधा घन्टा । सपनालाई त त्योभन्दा पनि बढी लाग्छ ।

१० वर्षकी भइन् सपना । उनको यो उमेर खाने, खेल्ने र पढ्ने हो । उमेरभन्दा ठूलो जिम्मेवारी उठाउनुपरेको छ उनले । पानी ल्याउनुपर्छ । खाना बनाउनुपर्छ । भाडा माझ्नुपर्छ । गोठमा एउटा सानो भैंसी पनि छ । ५ वटा बाख्रा पनि छन् । तिनलाई खानेकुरा दिनुपर्छ । घाँस काट्नुपर्छ । तिनको बस्ने ठाउँ फोहोर हुन्छ । त्यसको पनि बेलाबेलामा सफा गर्नुपर्छ ।

पोहोर साल सपनाका बुबाको मृत्यु भयो । बुबा आमा मिलेर काम गर्थे । कमाएर ल्याउँथे । अब बुबा नभएपछि कमाउने जिम्मा आमाको भयो । बुबा हुँदा सपनालाई अलि दुख थियो । आमाले खाना बनाउनुहुन्थ्यो । अब केही गर्न भ्याउनुहुन्न । किनभने आमाले नकमाउने हो भने दुईजनाले नै खान पाउँदैनन् ।

यसै दु:ख थियो उनीहरूलाई । भुइँचालोले दु:खमाथि झन् दु:ख थपिदियो । वैशाखमा आएको भुइँचालोले उनीहरूको सानो घर भत्काइदियो । आमाछोरी मात्रै थिए । अब कसले बनाइदिनु तिनीहरूको घर ? दुवैलाई चिन्ता भयो । केही समय बाहिरै बसे । गाउँले दयालु छन् । सहयोगी छन् । उनीहरूको घर बनाइदिए । जस्ताको छानो भएको सानो कटेरो बन्यो । अलि सजिलो भयो अब ।

दु:खै परे पनि सपनाले पढाइ छाडिनन् । ४ कक्षामा पुगिसेकी छन् । पढेर आएपछि अरूको घरमा काम पनि गरिदिन्छन् । कपडा धोइदिन्छिन् । सानो बालबच्चा हेरिदिन्छिन् । यसो गरेपछि उनले केही पैसा पाउँछिन् । त्यसले किताब किन्छिन् । कपि किन्छिन् । कलम किन्छिन् । उनको बुबा भएको भए उनले फुर्सद पाउने थिइन् । साथीसँग खेल्न जाने थिइन् । कापी किताब किन्न अरूको घरमा काम गर्नु पर्दैनथ्यो होला ।

आमालाई सपनाको निकै चिन्ता छ ।

छोरीको लागि निकै मिहिनेत गर्छिन् उनी । अरूको घरमा काम गरेर भए पनि छोरी पढाउने अठोट गरेकी छन् । सपना पनि मिहिनेत गर्छिन् । स्कुलमा अरू साथी सपनालाई हेप्न खोज्छन् । उनीसँग खेल्दैनन् । यसो गर्दा सपनाको चित्त दुख्छ । मन खिन्न हुन्छ । अनि आफैं सोच्छिन्– म त यहाँ पढ्न पो आएकी । मलाई खेल्नसँग मतलब छैन । स्कुलमा पनि पढेर बस्छिन् ।

असल छिन् सपना । साथी नखेलाउँदा चित्त दुखे पनि उनी अरूलाई देखाउँदिनन् । बरु घोप्टिएर बस्छिन् । सरमिसले चाहिँ सपनालाई निकै माया गर्नु हुन्छ । पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ भन्नुहुन्छ । यो कुरालाई उनले मनमा राखेकी छन् । भुइँचालो आएको केही समयपछि राहत टोली गाउँ पुगेको थियो । त्यो टोलीले सपनालाई पनि भेट्यो । उनी राम्रो विद्यार्थी भएको तर दु:खसाथ पढेको कुरा पत्रकारले पनि थाहा पाए । समाचार लेखिदिए । यसको प्रभाव पर्‍यो । उनीहरूलाई सहयोग गर्ने भेटिए । सपनाले नयाँ लुगा पाइन् । आमाले पनि पाउनुभयो ।

सपनाले पढ्न धेरै मिहिनेत गरेकी थिइन् । यो पटक सपना पहिलो भइछिन् । खुसी हुँदै स्कुलबाट मार्कसिट बोकेर आइन् सपना । आमा छेउ लगेर मार्कसिट देखाइन् ।

आमालाई पढ्न आउँदैन । सपनाले नै पहिलो भएको सुनाइन् । आमा रुनुभयो । यति दुख गरेर पढ्दा पनि छोरी पहिलो भइ भनेर खुशीका आशु थियो आमाको । सपना पहिलो भएपछि टाढा हुने साथी पनि अब नजिक आउन थाले । साथी नजिक भएपछि उनी मक्ख परेकी छिन् । साथी नजिक भएको आमालाई पनि सुनाइन् । आमा खुसी हुनुभयो । सहयोग पाएको पैसाले आमाले ३ वटा कुखुरा किन्नुभयो । तरकारी खेती पनि गर्नुभयो । तरकारीबाट आम्दानी भएपछि केही सहज भएको छ । पहिलाको भन्दा थोरै काम गर्दा पनि तरकारी र कुखुराले राम्रो कमाइ दिएको छ । त्यही भएर आमाको समय पनि अलि बचेको छ । सपनाले पढ्ने समय अलि धेर पाएकी छन् । अझै मिहिनेत गरेर राम्रो पढ्ने उनको योजना छ । पढेर यही गाउँको लागि केही गर्ने अठोट गरेकी छन् ।

यमुना पराजुली अधिकारी

चित्र : कृष्णगोपाल श्रेष्ठ

प्रकाशित मिति: २०७२ श्रावण १७ १०:१२ Kopila || ekantipur
Nepal Travel Book