एसएलसी प्रिन्सेस - Nepal Travel Book

Wednesday, August 5, 2015

एसएलसी प्रिन्सेस

श्रावण ९ -
भनिन्छ, बिहानले दिनको संकेत दिन्छ। त्यसैगरी बालकले नै उसको भविष्य देखाउँछ। शैशवकाल हामी सबैको रमाइलो नै हुन्छ। आमाको ममता बाबाको अशिर्वादसँग आफूले हुर्किएको आभास नै भएन। सायद अब त हजुरआमाले टीका लगाइदिँदा ‘ठूलो मान्छे हुनु’ भन्नु हुँदैन होला। आफ्नो महाविद्यालयको प्रांगणमा खेल्दाखेल्दै प्रवेशिका परीक्षा दिने भइसकिएछ पत्तै पाइएन


भन्छन्, डाक्टरको सन्तान डाक्टरै हुन्छन्। अनि पाइलटको सन्तान पाइलट नै। तर, आमाबुबा दुवै सैनिक भए पनि यो पेसामा मेरो ध्यानाकर्षण कहिल्यै भएन। एक मध्यम वर्गीय परिवारकी छोरी भए पनि मेरो सपनाहरू सधैं ठूला हुन्छन्। मलाई लाग्छ, जसले सपना देख्छ उसकै सपना साकार हुन्छ। प्रवेशिका परीक्षा दिएपछि आफ्नो तीन महिना बिदाको सदुपयोग कसरी गर्ने भन्ने चिन्ताले सतायो। सानैदेखि सौन्दर्य प्रतियोगितामा म निकै रुचि राख्थें। टीभीमा आउँदा पनि घन्टौं हेरिरन्थें र त्यो ताज आफू पनि पहिरिने रहर गर्थे। ऐनाअगाडि उभिन्थें। त्यसैको नक्कल गर्थें।


नयाँ कुरा गर्न रुचाउने मेरो प्रवृत्तिले प्रवेशिकापछि यस्तै एउटा सौन्दर्य प्रतियोगितामा जान उक्सायो। सिजन मिडियाले ‘एसएलसी प्रिन्सेस’ आयोजना गरेको सामाजिक सञ्जालमा देखें। यसबारे आमालाईं भनें। आफ्नो पनि भाग लिने इच्छा भएको आमालाई सुनाएँ। मान्नु भएन। जिद्दी गरें। मेरो जिद्दीको अगाडि सायद हार खानुभयो। बल्ल मान्नुभयो। अनि वैशाख ४ गतेको अडिसनको लागि तयार भएँ। वैशाख १२ मा भुइँचालो गयो। त्यसपछि यसमा सहभागी हुनेको संख्या घट्यो। ७० जना हुने निश्चित भएको थियो पहिला। पछि ४७ जना मात्रै भयौं।


तालिममा हामीले र्‍याम्प, वाल्क, मेक अप, ब्रिजिङ कोर्स, मिडिया, फेसिङ, लगायत धेरै कुरा सिक्यौं। धेरै मिडिया पर्सनालिटी पनि आउनुभयो। यो दुई महिनाको तालिममा हामीले जुम्बा अनि पौडी पनि सिक्यौं। साथी पनि धेरै बनाइयो। मेरो लागि यो तालिम धेरै फलदायी भयो। मैले जीवनभर काम लाग्ने सीप सिकें।


पर्दामा हेर्दा जति रोमाञ्चक हुन्छ, त्यति सजिलो चाहिँ हुँदो रहेनछ यो तालिम। सबैले कुरेको दिन थियो असार २९ गते। किनकि यो दिन हाम्रो फाइनल थियो। मनमा निकै कौतुहलता थियो। अनि आत्मविश्वास पनि थियो। भन्छन्, काम गर्नू तर फलको आशा नगर्नू। आफ्नो तर्फबाट सक्दो प्रयास गरें। खेल न हो, हार जित हुन्छ। बाल्यकालदेखि ताज पहिरिने इच्छा पूरा त भएन तर त्यो ताज पहिरिन चाहिने सम्पूर्ण गुणहरूले आफ्नो शिर भने सजाएकी छु। त्यसैले भाइबहिनी हो, म यो लेखबाट यही शिक्षा दिन चाहन्छु कि जीवन सफलता मात्रै होइन, कतिपय बेला आफूले राम्रो गर्दागर्दै पनि जित चुम्न सकिँदैन। हामी सधैं विश्वस्त भई अघि बढ्नुपर्छ। ठूलो सोच्नुपर्छ। हामी असफल हुन सक्छौं। असफल भए पनि झन् ठूलै सोच्नुपर्छ।



प्रकृति श्रेष्ठ
प्रकाशित मिति: २०७२ श्रावण १० १२:३९ || Kopila || ekantipur || Nepal Travel Book ||