प्रतिभा | Nepal Travel Book |
फूलमती कक्षा तीनमा पढ्छिन्। अरूभन्दा उनको शारीरिक अवस्था अलि कमजोर छ। उनका दुइटा भाइ पनि छन्। बोल्दा उनको बोली खासै प्रस्ट हँुदैन। अप्ठेरो तरिकाले बोल्ने गर्छिन्। उनको दुइटा गोडा अलि बाङ्गा छन्। गोडा बाङ्गो पारेर हिँड्छिन्। उनी अरूभन्दा छिटो हिँड्न नसक्ने हुनाल े उनका साथीहरु उनलाई धकेलेर लडाइदिन्थे। फूलमतीको आमाबुबा गरिब किसान थिए। उनीहरू फूलमतीलाई यस्तो अपांग, कुरूप , धर्तीलाई बोझ किन जन्मेकी होला भनेर गाली गर्थे।
विद्यालयमा उनलाई सफा नगरी पठाउँथे। कक्षामा फूलमतीका साथीहरू उनलाई सँगै बस्न र खेलाउन मान्दैनथे। ‘फूलमती आई भाग...’ यो फोहोरीले छुन्छे। यसको कपाल पनि जोगीको जस्तो लट्टा परेको छ। नाकबाट पनि सिँगान बगिरहेको छ। ‘छ्या छ्या कस्तो फोहोरी’ भनेर जिस्काउँथे। फूलमती उनीहरूलाई छुन जान्थिन् तर उनीहरु उल्टै फूलमतीलाई जिस्काउँदै भाग्थे। साथीहरूसँग खेल्न नपाएको अनि साथीहरूले जिस्काएको देखेर फूलमतीलाई साह्रै नरमाइलो लाग्थ्यो। उनी रुन्थिन्। कक्षामा पनि अरूभन्दा पढाइमा कमजोर थिइन्। बाबुआमाले उनलाई प्राय:जसो कापी किनिदिँदैनथे त्यसैले उनी सधैं होमवर्क नगरी विद्यालय जान्थिन्। होमवर्क नगरेकै कारण उनलाई शिक्षकहरूले कहिले कान समातेर उठबस गर्न लगाउँथे। कहिले कक्षाबाटै बाहिर निकाल्ने त कहिले लठ्ठीले हिर्काउने गर्थे। फूलमतीलाई स्कुल जान पनि साह्रै नरमाइलो लाग्न थाल्यो। साथीहरूले फूलमतीलाई बाङ्गी, लाटी भन्दै जिस्काउँथे। त्यसैले उनी कक्षामा रोएर बस्थिन्। उनलाई कुनै पनि किताब पढ्न मन लाग्दैनथ्यो तर उनलाई आफ्नो ड्रइङ बुक भने असाध्यै मन पर्दथ्यो।
उनीहरूलाई कला म्याडमले ड्रइङ सिकाउँथिन्। फूलमती कला म्याडमको कक्षामा असाध्यै खुसी हुन्थिन्। कला म्याडम पनि फूलमतीलाई धेरै माया गर्नुहुन्थ्यो। उनलाई सधैं हौसला दिनुहुन्थ्यो। कला म्याडम उनीहरूलाई सधै राम्राराम्रा चित्र देखाउनुहुन्थ्यो। त्यस्तै चित्र बनाउन सिकाउनुहुन्थ्यो। हप्तामा एक दिन मात्र कला म्याडमको क्लास हुन्थ्यो।
उनलाई कला म्याडमको क्लास सधैं आइदिए हुन्थ्योजस्तो लाग्थ्यो। हरेक पटकको ड्रइङ क्लासमा फूलमती एक्टिभ भएर काम गर्थिन्। अन्य साथीभन्दा फूलमती चित्र बनाउन साह्रै उत्सुक हुन्थिन्। उनी ड्रइङ क्लासमा फूलमती सधै ं उत्कृष्ट हुने गर्थिन्। कला म्याडमले फूलमतीलाई स्याबास भन्दा कक्षामा सबै साथी उसँग इष्र्यालु बन्थे। फूलमतीले बनाएका चित्र कला म्याडमले सबै भित्तामा टाँसिदिनुभएको थियो। त्यो देखेर फूलमती साह्रै खुसी भएकी थिइन्।
एक दिन कला म्याडम राम्राराम्रा चित्रहरू बोकेर आउनुभो। सबैभन्दा पहिले उहाँले म तिमीहरूलाई आज खुसीको खबर सुनाउँछु भन्नुभयो। विद्यार्थी सबै के होला खुसीको कुरा भन्दै एकआपसमा खस्याकखुसुक गर्दै कानेखुसी गर्न थाले। कला म्याडमले ‘अब म तिमीहरूलाई खुसीको खबर बताउँछु’ भन्नुभयो। विद्यार्थीहरू सबै चुपचाप कान ठाडो ठाडो पारेर सुन्न थाले। ‘जिल्लास्तरीय कक्षा एकदेखि तीनसम्मको विद्यार्थीहरूको चित्र कला प्रतियोगितामा हाम्रो विद्यालयले पनि भाग लिने भएको छ। तिमीहरूमध्ये राम्रो चित्र बनाउन सक्नेलाई हामी प्रतियोगितामा लैजाने छौं, कला म्याडमले भन्नुभयो।
म्याडमका कुरा सुनेर सबै विद्यार्थी खुसी भए। फूलमती ले ‘म जान्छु, म राम्रो चित्र बनाउँछु म्याडम’ भनेर हात उठाइन्। त्यसपछि सबैले फूलमतीजस्तै म जान्छु भन्दै हात उठाउन थाले। कक्षा एकदेखि तीनसम्मका विद्यार्थी छनोट गर्दा फूलमती नै प्रतियोगितामा भाग लिन जाने भइन्।
जिल्लाभरिका बीस विद्यालय प्रतियोगितामा सामेल थिए। तर फूलमतीले बनाएको आफ्नो बच्चालाई आहारा खुवाउन छिटा–छिटो उडिरहेको चरा र गुँडमा मुख आँ गरेर भोकले कराइरहेको बचेराको चित्रले निर्णायकको मन जित्यो। फूलमतीले सर्बोत्कृष्ट पुरस्कार पाइन्। उनले बनाएको चित्रमा जीवन थियो। त्यसैले प्रथम भयो। फूलमतीले जिल्ला शिक्षा अधिकारीका हातबाट नगद १० हजार रुपैयाँ र प्रमाणपत्र पाइन्। फूलमतीका शिक्षक र साथीहरू खुसी भए। भोलिपल्ट प्रार्थना समयमा सबै विद्यार्थी लाइनमा उभिएर प्रार्थना गर्दै थिए। विद्यालयका प्रिन्सिपल जनार्दन शर्माले फूलमतीलाई अगाडि बोलाएर स्याबास भनेर तारिफ गर्नुभयो। उहाँले विद्यालयका तर्फबाट भनेर पुरस्कार स्वरूप कलर पेन्सिल बक्स किदिनुभयो। सबैले ताली बजाएर फूलमतीले बनाएको चित्र देखेर सबै विद्यार्थीले ताली बजाए। वाह वाह १ फूलमतीको चित्र भनेर सबैजना खानेखुसी गर्न थाले। फूलमतीलाई जिस्काउनेहरू उनको प्रतिभाबाट छक्क परे। त्यसपछि उनीहरूले फूलमतीलाई जिस्काउन छाडे। माया गर्न थाले। आमाबुबा पनि खुसी भए। अपांग भनेर हेला गरेकोप्रति दु:ख माने। त्यसपछि उनीहरूले भाइहरूलाई जस्तै फूलमतीलाई सफा कपडा लगाएर स्कुल पठाउन थाले। अचेल फुलमति सबैको प्रिय भएकी छन्।
प्रकाशित मिति: २०७२ श्रावण १० ०१:०२ || Kopila || ekantipur || Nepal Travel Book ||