राजपाले भन्याे- अान्दाेलन राेकेर वार्ताको जालझेलमा फस्दैनौं - Nepal Travel Book

Wednesday, June 14, 2017

राजपाले भन्याे- अान्दाेलन राेकेर वार्ताको जालझेलमा फस्दैनौं


जेष्ठ ३०, २०७४- राष्ट्रिय जनता पार्टी नेपालले आफूहरु आन्दोलन रोकेर वार्ताको जालझेलमा नफस्ने जनाएको छ । राजपाका शीर्ष नेताहरु आन्दोलन परिचलानका लागि तराई–मधेसका जिल्लामा जाने भएकाले सरकारले बुधबारका लागि निर्धारण गरेको वार्तामा सहभागी हुन नसक्ने भएका छन् ।

राजपा नेता राजेन्द्र महतोले आफूहरूले उठाएको माग सम्बोधन हुने अवस्था आएपछि मात्रै छलफलमा बस्न सकिने बताए । ‘अध्यक्ष मण्डलसहित सबै नेताहरु बुधबारदेखि जिल्ला जाँदैछौं,’ उनले भने ‘आन्दोलनका लागि जिल्ला जान लागेका बेला त्यसलाई रोक्न सरकारले जालझेल गर्न खोजेको हुन सक्छ । त्यसका हामी फस्दैनौं ।’ उनले आफूहरूको माग पूरा नभएसम्म चुनावमा सहभागी हुन नसक्ने र आन्दोलनलाई उचाइमा पुर्‍याउने पार्टीको निर्णय रहेको सुनाए ।

उनले निर्वाचनको म्याद थप्नु आफूहरूको माग नरहेको भन्दै मुद्दाको सम्बोधनमा सरोकार रहेको बताए । ‘जति पटक म्याद थपे पनि मुद्दाको सम्बोधन भएन भने अवस्था यस्तै रहन्छ,’ उनले भने ‘त्रुटीपूर्ण संविधानलाई सच्याउने दिशामा प्रमुख दलहरु अग्रसर हुनुपर्‍यो । अनी मात्र चुनावको वातावरण बन्छ ।’

उनले संविधान संशोधन र जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्यामा वृद्धि आफूहरुको प्रमुख माग रहेको बताए । ‘हाम्रो माग सम्बोधनका लागि उहाँहरुलाई कति समय चाहिन्छ, त्यस अनुसारले निर्वाचनको तिथी सारे हुन्छ,’ उनले भने ‘हार्मी निर्वाचनका लागि प्रतिवद्ध छौं । सहभागी हुन खोजेका छौं । तर, हामीलाई रोक्ने प्रयत्न भइरहेको छ । माग पूरा गरेर वातावरण बनाइयोस, हामी निर्वाचनमा आउँछौं ।’

उनले आफूहरुको माग पूरा गर्न आइपर्ने कानुनी, संवैधानिक अडनलाई फुकाउने जिम्मेवारी सरकारको रहेको बताए । यहीस्थितिमा सरकारले जर्वजस्ती चुनाव गराए देश मुठभेडमा जाने र त्यसको जिम्मेवार प्रमुख दलहरु नै हुने उनले उल्लेख गरे ।