Rara Lake |
राराको सौन्दर्य भाव खिचिएको यो गीतले राराको गहिराइ नापेको छ । अब धेरै फिल्मी कलाकार र गायक/गायिकाका लागि रारा यात्रा सहज बन्दै गएको छ । सडक र हवाई मार्ग दुबैले जोडेपछि यात्रा सजिलो र आरामदायक भएको हो ।
आफ्नै देशको राजधानीबाट मात्र होइन, भारतीय पर्यटक दिल्लीबाटै बलेरो जिप बुकिङ गरेर राराको सौन्दर्य पारख गर्न योजना बुन्दै छन् । जिल्लाका ताल्चा विमानस्थल कालोपत्रे हुँदा सुर्खेत र नेपालगन्ज देखि आन्तरिक तथा बाह्य पर्यटकलाई रारा पुग्न सहज भएको छ । सडक मार्गबाट समेत रारा पुग्न कष्ट खेप्नु नपर्ने भएको छ ।
गमगढी नाग्मा ९४ किलोमिटरको सडक खण्ड स्तरोन्नति हुँदै जाँदा बाह्रै महिना गाडी सुचारु हुन थालेका छन् । पर्यटकहरूले तराईबाट गाडी बुकिङ गरी सजिलै रारा भ्रमण गर्न सकिने भएको छ । हवाई र सडक मार्गको यात्रा सहज बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई रारा पुग्न कठिनाइ खेप्नु नपर्ने अवस्था आएको रारा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खत्रीले बताए ।
नेपालगन्जदेखि ताल्चा एयरपोर्ट पुग्न ३५ मिनेट लाग्छ । त्यहाँबाट रारा पुग्न डेढ घण्टा समय लाग्छ । सुर्खेत, कालिकोट, नाग्मा, जुम्लाको सिंजा हुँदै सडक मार्गबाट भने रारा पुग्न २ दिन लाग्ने गरेको छ । रारा अवलोकन गर्न नेपालगन्जदेखि ताल्चा एयरपोर्टसम्म पुग्न ८ हजार र जान ३ हजार ९ सय रुपैयाँ हवाई भाडा तिर्नुपर्छ । सडक मार्ग भएर रारा आउँदा ३ हजार ५ सय खर्च लाग्छ । हवाई मार्गबाट रारा पुग्न समय थोरै लाग्ने भए पनि दृश्यावलोकन, स्थानीय जनजीवन हेर्न सडक मार्ग नै उपयुक्त मानिन्छ । नाग्मा भएर रारा आउँदा जुम्लाको सिंजा क्षेत्र अवलोकन गर्न पाइन्छ । खस भाषाको उदगमस्थल मानिएको सिंजा मात्र नभएर प्राचीन पाण्डुगुफा, कनकासुन्दरीको मन्दिर, नौ धारा, रमणीय स्थल घुच्चीलेक र डाबको अवलोकन गर्दै पर्यटकीयस्थल रारा पुगेको थाहै हुँदैन ।
बाजुराको कोल्टी विमानस्थल ओर्लेर रारा पुग्न २ दिन लाग्छ । बीच बाटोमा कर्णालीका माछाको स्वाद, वारिपारि गाउँबस्ती अवलोकन र खोला झर्नामा रमाउँदै रारा आइपुगिन्छ । रारामा मन्त्रालयका कर्मचारी, विदेशी कूटनीतिज्ञ, कलेजका विद्यार्थी र तीर्थयात्रीहरू गाडी बुकिङ गरेर भ्रमणमा आउन थालेको रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती विकास क्षेत्रका अध्यक्ष बिर्खबहादुर रोकायले बताए । विगतको भन्दा आतेजाते खर्च पनि कम लाग्ने गरेको र प्राय: सुनसान रहने रारामा अहिले चहलपहल बढ्न थालेको उनको भनाइ छ ।
भदौदेखि कार्तिकसम्म राराको वातावरण निकै सुन्दर देखिन्छ । अन्य महिनाको तुलनामा यो समय घुम्न उपयुक्त मानिन्छ । रारामा आउँदो असोज २२ र २३ गते जुम्ला, रारा अल्ट्रा म्याराथुन दौडसमेत राखिएको जुम्लाका म्याराथुन धावक हरि रोकायाले बताए । रारामा अल्ट्रा म्याराथुन दौड मात्र नभएर मौसम अनुकूल ताल वरिपरि साइकल दौड, चुचुमारेदेखि मिलिचौरसम्म प्यारागलाइडिङ, रेस्लिङ, फिल्म सुटिङ र क्रिकेट खेल गर्ने हो भने पर्यटक झन वृद्धि हुने धावक रोकायाले बताए ।
समुद्र सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा ५ हजार मिटर लम्बाइ, ३ हजार मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ भएको रारामा पर्यटक धान्ने भौतिक पूर्वाधारको टडकारो खाँचो छ । रारा वरपरका क्षेत्रहरूमा करिब ३५ वटा स–साना होटल छन् । तर, बाह्य पर्यटकका निम्ति सुविधायुक्त र भरपर्दो छैनन् ।
एकमात्र सुविधायुक्त हुटुको डाँफे होटलमा पर्यटकको भीड हुन्छ । रारा परियोजनाले मिलिचौरमा ५ तारे होटल निर्माणका लागि गृहकार्य अघि बढाए पनि अहिलेसम्म कुनै काम सुरु हुन सकेको छैन ।
होटल बन्ने खबरले खुसी भएका मुगुबासी निराश छन् । यहाँ असला माछा, रेडपाण्डा, कस्तुरी मृग, भालु विभिन्न प्रजातिका चराहरू अवलोकन गर्न सकिन्छ । रारादेखि डेढ घण्टाको उकालो चढेर पारि चुचुमारे वारि मुर्माटप पुगेर सैमाल हिमाल र धार्मिक तीर्थस्थल छायानाथ देख्न पाइन्छ ।