वीरगञ्जमा आज चार प्रदर्शनकारीको मृत्यु - Nepal Travel Book

Tuesday, September 1, 2015

वीरगञ्जमा आज चार प्रदर्शनकारीको मृत्यु

वीरगञ्जमा आज चार प्रदर्शनकारीको मृत्यु

भाद्र १५, २०७२- वीरगञ्जमा कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका चार जनाको मंगलबार मृत्यु भएको छ ।

वीरगञ्जको लक्ष्मनुवा चौकमा दिउँसो भएको झडपमा घाइते दुई जनाको उपचारकोक्रममा मृत्यु भएको छ । गोली लागेर घाइते दीनानाथ साह र भोलाप्रसाद साहको उपचारकोक्रममा अस्पतालमा मृत्यु भएको नेशनल मेडिकल कलेजका ईञ्चार्ज दिलिप साहले जानकारी दिए ।

यसैगरी नगुवा चौकमा भएको झडपमा स्थानीय सोहन कलवारको घटनास्थलमै मृत्यु भएको हो । वीरगञ्जमा सोमबार एकजनाको मृत्यु भएको हो ।

मंगलबार दिउँसो नै राधेमाई क्षेत्रमा प्रहरीको गोली लागेर धर्मराज सिंहको मृत्यु भएको थियो ।

पर्सा प्रहरी प्रमुख दिवेश लोहनीले पनि मंगलबारमात्रै चार प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे ।

झडपमा फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य अमेरीलाल पाल राउत र चतुरी राउतसहित एक दर्जन घाइते भएका छन् । अमेरीलाल र चतुरीको अवस्था गम्भीर छ ।
यसैबीच स्थानीय प्रशासनले दिउँसो साढे साढे दुई बजेपछि वीरगञ्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।