एसिसी यू १९ क्रिकेटमा नेपालको सुखद सुरुवात, नेपालद्वारा युएई १४९ रनको अन्तरले पराजित - Nepal Travel Book

Friday, August 28, 2015

एसिसी यू १९ क्रिकेटमा नेपालको सुखद सुरुवात, नेपालद्वारा युएई १४९ रनको अन्तरले पराजित

काठमाडौँ , भदौ ११ । एसिसी यू १९ प्रमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज संयुक्त अरव इमिरेट्स (युएई) लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई १४९ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । जितसँगै नेपालले दुई अङ्क जोडेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युएईसामु दुई सय रनको चुनौती प्रस्तुत गरेको थियो । नेपाल ४९ दशमलव ४ ओभरमा १९९ रन जोड्दै अलआउट भएको थियो ।

दुई सय रनको विजय लक्ष्य पाएको युएई २० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा समेटियो । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सौरभ कँडेल एक्लैले चार विकेट लिए भने सुनिल धमलाले ३ तथा प्रेम तामाङले २ विकेट लिए ।

त्यस्तै नेपालतर्फको ब्याटिङमा राजु रिजालले सर्वाधिक ५० रनको योगदान दिए । नेपालले छैटौँ ओभरमा ३२ रन जोड्दा पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमायो । सन्दिप सुनार पनि १०औँ ओभरमा १८ रन जोडेर पेभेलियन फर्के । त्यस्तै, ३२ ओभरमा टिमको स्कोर ११३ रन हँुदा नेपालले पाँच विकेट गुमाएको थियो ।

युएईका लागि भने कप्तान वारुना परेराले सर्वाधिक ३२ रनको योगदान दिए भने अर्का ओपनर जफिर जफादिनले १२ रन जोडे ।
त्यस्तै, नेपालको ब्याटिङमा युएईका जाफरी जफरदिनले तीन विकेट लिएका थिए । इसान अली खान र अब्दुल्लाह आसिफले समान दुई दुई विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल भोलि शनिबार अफगानिस्तानसँग खेल्नेछ ।

नेपालसहित आयोजक मलेसिया, युएई, कुवेत र साउदी अरबले भाग लिएको सो प्रतियोगितामा शीर्ष तीनभित्र रहने टोली यु–१९ एसिया कपमा छनोट हुनेछन् ।