जनैपूर्णिमा पर्व घरघरमा मनाइदै - Nepal Travel Book

Saturday, August 29, 2015

जनैपूर्णिमा पर्व घरघरमा मनाइदै

काठमाडौँ , भदौ १२ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात ऋषितर्पणी (जनै) पूर्णिमा देशभरि हिन्दु धर्मावलम्बीहरुले नाडीमा रक्षाबन्धन बाँधेर र जनै फेरेर मनाइरहेका छन्। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।

आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने प्रचलन रहीआएको छ नाडीमा रक्षाबन्धन बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने ‘यनबद्धो बलि राजा दानबद्धो महाबलस् त्वेनत्वांम प्रतिबध्नामि रक्षामा चलमा चलस्‘ भनेर मन्त्रोच्चारण गर्ने चलन छ।

रक्षाबन्धनको डोरीले सुरक्षा गर्ने मानिन्छ। तागाधारी ब्राम्हणहरुले हिजोदेखि नै चोखोनितो गरी आज मन्त्रसाधना गरिएको नयाँ जनै धारण गर्ने गर्छन्। जनै लगाउनेहरुले आज ऋषिहरुको सम्झना गर्दै नजिकको जलाशयमा पुगेर माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी नयाँ जनै धारण गर्ने गर्छन्।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अन’सार “शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गेको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ ।

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।