घैंटेको समर्थनमा जुलुस निकाल्दा प्रहरीले लखेट्यो, २ पक्राऊ - Nepal Travel Book

Friday, August 21, 2015

घैंटेको समर्थनमा जुलुस निकाल्दा प्रहरीले लखेट्यो, २ पक्राऊ

सभासद भीमसेनदास भन्छन्-मान्छे मार्नलाई पुलिस बनाको ?


४ भदौ, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ का समर्थकहरुले काठमाडौंको सामाखुसीमा विरोध प्रदर्शन गरेका छन् । घैंटेका समर्थकहरुले बाटो अबरुद्ध गर्दै विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले लेखेटेर दुईजनालाई पक्राउ गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेस सभासद भीमसेनदास प्रधानका अनुसार प्रदर्शनमा सहभागी दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले अनलाइनखबरसँग भने, ‘कुमारले थुप्रै सामाजिक काम गरेको थियो । भूकम्प पीडितलाई राहत बाँडेको थियो । त्यसलाई हत्या गरेपछि स्थानीयले विरोध गरेका हुन् ।’

उनले प्रहरीले नियन्त्रणमा लिएर घैंटेलाई हत्या गरेको भन्दै प्रहरीको आलोचना गरे । ‘पुलिस किन बनाको ? मान्छे मार्नलाई ?’ सभासद प्रधानले प्रश्न गर्दै भने, ‘जेल र सुधारगृह गलत काम गरेकाहरुलाई राख्नलाई बनाको हो । पुलिसले शान्ति सुरक्षा दिने हो, कुमारलाई मार्नै पर्थ्यो र ?’

विहीबार सामाखुसीस्थित आफ्नो घरनजिकै कुमार घैंटे प्रहरीको गोली लागी मारिएका थिए ।