अनिलको सफाइ यन्त्र | Nepal Travel Book |
श्रावण १६ -
बालबालिकाको दिमाग काँचो माटोजस्तै मानिन्छ । त्यही दिमागलाई प्रयोग गरेर नयाँनयाँ काम गर्न सकिन्छ भन्ने उदाहरण पाल्पाका अनिल आचार्य बनेका छन् ।अनिलको घर पाल्पाको रामपुर नगरपालिका, ११ रातमाटा हो । अहिले तानसेन नगरपालिकामा बसेर कक्षा–१० मा जनता उच्च मावि अध्ययन गर्छन् । उनको चार महिना लामो प्रयासपछि ‘स्वचालित सरसफाइ यन्त्रमानव’ तयार गरे । त्यही प्रतिभालाई विद्यालयले स्रोतकेन्द्र, जिल्लास्तर, क्षेत्रीयस्तर र काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा सहभागी गरायो । सबै स्थानमा पहिलो हुन सफल भए । यसको प्रयोग गरेर आफूले चाहेका वस्तु आफूसमक्ष ल्याउन तथा धेरै सामानलाई एकैपटक व्यवस्थापन गर्न सकिन्छ । स्थानीय सामग्रीकै प्रयोग गरेर यन्त्र मानव निर्माण गरेको आचार्यले बताए । यसमा सोलार जडान गरिएको छ । काठको लिस्टी, काठ, पाइप, मोटर, तार, सोलार, खेलौना, गाडीका टायर, जुत्ताको ब्रस, फ्याँकिएका गियर, बोतल जस्ता सामग्री प्रयोग गरिएको छन् ।
असारको अन्तिम साता काठमाडौंमा आयोजित ‘विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा पहिचान र छनोट’ मा आचार्य नेपाल प्रथम भएका हुन् । अनिल विज्ञान विद्यामा प्रतिस्पर्धा गरेका हुन् । पाँच विकास क्षेत्रबाट सहभागी प्रतिस्पर्धामा अनिलको यन्त्र मानव सबैका आकर्षण बन्यो ।
यन्त्र मानव अहिलेको परिस्थितिमा निकै उपयोगी छ । विद्युत्को मोटर असर, फयाराडेको विद्युत् चुम्बकीय उत्पादन, शक्तिको रूपान्तरणको सिद्धान्तमा आधारित रहेको छ । सामान्यत: दुई तर्फबाट काम गर्छ । एउटा विद्युत्को माध्यम र अर्को सौर्य ऊर्जा ।
दुईतर्फबाट चल्ने भएकाले यसलाई विद्युत् भएको र नभएको विश्वको जुनसुकै ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । यो उपकरण वातावरण मैत्रीसमेत छ । यसले कुनै प्रकारको प्रदूषण फैलाउँदैन । प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षतिलाई समेत कम गर्न मद्दत पुर्याउँछ । सौर्य ऊर्जाको प्रयोगले पृथ्वीलाई ग्लोबल वार्मिङ हुनबाट बचाउने उनले बताए । ‘मैले पहिलादेखि मिहिनेत गर्दै आएको थिएँ,’ उनले भने, ‘राष्ट्रियस्तरमा भएको प्रदर्शनीमा पहिलो भएसँगै अझै हौसला बढेको छ ।’
प्रकाशित मिति: २०७२ श्रावण १७ १०:०९
Source: कोपिला | ekantipur